Techie IT
Hetauda Khabar

मकवानपुर गोल्डकप : उपाधिका लागि एनआरटी र एपिएफ बीचको खेल सुरु


हेटौंडा,२७ माघ । हेटौँडा ६ स्थित गौरीटार रंगशालामा जारी छैठौं संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल सुरु भएको छ ।

नेपालका चर्चित क्लब न्यूरोड टिम (एनआरटी) र सशस्त्र प्रहरीको (एपिएफ) बिच खेल सुरु भएको छ । एनआरटीले सेमिफाइनलमा धनकुटाको राजारानीलाई सडनडेथमा र एपिएफले बागमती युवा क्लब सर्लाहीसँग सहज जित निकाल्दै उपाधि भिडन्त पक्का गरेको थियो ।

फाइनल प्रवेशको क्रममा एनआरटीले सडनडेथमा १७–१६ को जित निकालेको थियो भने एपिएफले बागमतीसँग ४–० को जित निकालेको थियो। यो पटक मकवानपुर गोल्डकपले नयाँ विजेता पाउँदैछ ।

यी दुई क्लब यो प्रतियोगिताको फाइनलमा पहिलो पटक पुगेका हुन्। यसअघि २०६४ सालमा भएको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो।

त्यसपछि नियमित हुन नसकेको प्रतियोगितालाई २०७६ सालबाट पुनः निरन्तरता दिइएकोमा उक्त वर्ष घरेलु टिम मकवानपुर ११ ले उपाधि जितेको थियो। २०७७ र २०७८ मा त्रिभुवन आर्मी फुटबल क्लबले प्रतियोगिताको उपाधि जित्दा अघिल्लो वर्ष हिमालयन शेर्पा क्लबलाई १–० गोलले हराउँदै मनाङ मर्स्याङ्दी क्लबले उपाधि जितेको थियो। यस वर्ष साबिक विजेता मनाङमस्र्याङ्दी क्लबले प्रतियोगितामा सहभागिता जनाएको छैन भने उपविजेता शेर्पा क्लब एनआरटीसँग हार व्यहोर्दै पहिलो खेलबाटै बाहिरियो।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट मोटरसाइकल) र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्, हेटौँडा उपमहानगरपालिकासहित जिल्लाको स्थानीय तह र अन्य विभिन्न सङ्घसंस्थाको सहयोगमा सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आयोजना हुँदै आएको हो। माघ १६ गतेबाट सञ्चालन भएको छैठौं संस्करणको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट