Techie IT
Hetauda Khabar

मकवानपुरको भैँसे–भिमफेदी सडक चैतसम्ममा निर्माण सम्पन्न हुन्छ– मुख्यमन्त्री जम्कट्टेल


हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौंडा काठमाडौँ जोड्ने छोटो दुरीको मार्गको भैँसे–भिमफेदी खण्डको निर्माण कार्य चैत भित्रमा सम्पन्न हुने बताएका छन् ।

बिहिबार प्रदेशको राजधानी हेटौंडा र काठमाडौँ जोड्ने भैँसे–भिमफेदी सडक खण्डको स्थलगत अनुगमन गर्दै मुख्यमन्त्री जम्कट्टेलले अबको तीन महिनाभित्रमा सो खण्डको सडक निर्माण सम्पन्न हुने बताएका हुन् ।

११.५१ किलोमिटर लम्बाई रहेको उक्त सडक खण्डको निर्माण कार्य थुप्रै जटिलतालाई समाधान गर्दै सडक पिच गर्ने काम भइरहेको उनले बताए । हेटौंडा–काठमाडौँ प्रदेश लोकमार्ग अन्तर्गत भैँसे–भिमफेदी ९११.५ कि.मि. सडक खण्डको निर्माण कार्यमा भइरहेको उनको भनाइ छ ।

डबल लेनमा सडक निर्माणको कामलाई आफूले प्रदेश सरकारको कार्यभार सम्हाल्दै गर्दा प्राथमिकतामा राखेर काम अगाडि बढाएको उनले बताए । सो सडक निर्माण जग्गा प्राप्ति लगायत थुप्रै समस्या समाधान गर्न प्रदेश सरकारले भूमिका खेलेको उनले बताए । अझै केहि समस्या समाधान हुने क्रममा रहेकाले चैत भित्रमा सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको उनको भनाई छ ।

सडकको अनुगमन गर्दै बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले विगतमा मुआब्जाको समस्याले निर्माण कार्य ढिलो भएपनि स्थानीय जनतासँगको छलफल पश्चात ठेक्का लगाएकाले निर्माण कार्यले गति लिएको बताए । भैँसे–भीमफेदी सडकको ८० प्रतिशत काम सकिएको बताउँदै उनले अब २० प्रतिशत मात्रै काम गर्न बाँकी रहेको बताए ।

उनका अनुसार सडक चौडा र टेवा पर्खाल, ड्रेन सहितको निर्माण कार्य करिब ९५ प्रतिशत काम सकिएको छ । हालसम्म २ किलोमिटर कालोपत्रे निर्माण पनि सम्पन्न भएको उनको भनाई छ ।

सुरु गरिएको भीमफेदी सडक संघीय राजधानी र तराई जोड्ने छोटो दुरीको मार्गको रुपमा रहेको छ । यातायात पूर्वाधार निर्देशनालय मार्फत ३८ करोड ७८ लाख ८९७ रुपैयाँ लागतमा सो सडक खण्डको निर्माण कार्य सम्झौता भइ काम भइरहेको छ। उक्त सडकमा पर्ने ५ पुलमध्ये ४ वटा निर्माणाधीन अवस्थामा रहेका छन् भने एउटा पुल निर्माण सम्पन्न भइसकेको छ ।

२०७७ साल असार २४ गते ठेक्का लगाएको आयोजनाको दुई पटक म्याद थप भएकोमा हाल सडक निर्माणको काम अन्तिम चरणमा रहेको छ । सो सडक खण्डको निर्माणका लागि कार्यालयले ६३ करोड ७० लाख ६५ हजार ४४७ रुपैयाँ लागत अनुमान गरेको थियो ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट