Techie IT
Hetauda Khabar

मकवानपुरको चित्लाङआउदै गर्दा दुर्घटना : श्रीमान्, छोराछोरी र आमाबुबा गुमाइन्, संयोगले बाँचिन् डा. सृष्टि


डाक्टर महेशकुमार गौतम शनिबार छोराछोरी, श्रीमती र सासू–ससुरा लिएर मकवानपुरको चित्लाङतर्फ जाँदै थिए । छोराछोरीको स्कुल बिदा र आफूहरूको पनि शनिबार बिदा हुने भएकाले उनी बिदा मनाउन चित्लाङ जान लाजिम्पाटबाट निस्किएका थिए । ३–०१–२३ च ६९८५ नम्बरको निजी कार आफैँले हाँकिरहेका उनी गन्तव्यमा पुग्न सकेनन् ।

थानकोट हुँदै हिमचुली सेतो पहरा भन्ने ठाउँमा पुग्दा करिब २ बजे उकालोमा कारले तानेन । बाटो अप्ठ्यारो र उकालो पनि भएकाले डा। गौतमकी श्रीमती डा। सृष्टि तिवारी गौतम झरेकी थिइन् । पिकअप लिनका लागि केही पछाडि आउँदै थियो, गाडीको ब्रेक नै लागेन । उनले कारले सडक डिल छाड्न थालेपछि ढुंगाको ओत लगाउन खोजिन्, तर असफल भइन् ।

हेर्दाहेर्दै कार भिरबाट तल खस्यो । अब चिच्याउनुबाहेक उनीसँग केही उपाय थिएन । कार ढुंगा र चट्टानमा बजारिँदै आँखाले नै ठम्याउन नसक्ने ठाउँसम्म खस्यो । आँखैअगाडि जीवनका सबैभन्दा प्रिय व्यक्ति गुमाइन् । दुर्घटनामा श्रीमान्, छोराछोरी र आमा–बुबालाई एकै छिनमा गुमाउनुपर्दा डा। सृष्टि मूर्च्छित छिन् ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार कार सडकबाट ६ सय मिटर तल खसेको थियो । कार दुर्घटनाका क्रममा ३८ वर्षीय डा। गौतमसहित उनीका छोरा चार वर्षीय प्रियांश, ६ वर्षीय छोरी स्मारिका, ६७ वर्षीय ससुरा ओमकारनिधि तिवारी र सासू कल्पना तिवारीको ज्यान गयो ।

चारजनाको घटनास्थलमै तथा मृतक डा। गौतमकी छोरी स्मारिकाको वयोधा अस्पतालमा उपचारका क्रममा शनिबार नै मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए । प्रहरीका अनुसार दुर्घटना भएको सडकखण्ड निकै उकालो, अप्ठ्यारो, कमलो माटो भएको ठाउँ छ । सडकको खराब अवस्थाका कारण दुर्घटना भएको आकलन गरिएको छ ।

डा। गौतम र उनकी श्रीमती सृष्टि मिलेर लाजिम्पाटस्थित आफ्नै घरमा नेसनल आस्मा एलर्जी सेन्टर सञ्चालन गर्दै आइरहेका थिए । बालबालिकामा हुने घाँटीलगायत शरीरमा हुने एलर्जीको उपचारका लागि डा। गौतम अब्बल मानिन्थे । उनले आफ्नै घरमा अस्पताल सञ्चालन गरेर कैयौँ बालबालिकाको उपचार गर्दै आइरहेका थिए ।

डा। गौतम आफ्नो निजी अस्पतालबाहेक महाराजगन्जमा रहेको इन्टरनेसनल फ्रेन्डसिप चिल्ड्रेन अस्पतालमा काम गर्थे । उनकी श्रीमती डा। सृष्टिले ललितपुर हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा काम गर्दै आइहेकी छिन् । पारिवारिक रिफ्रेसमेन्टका लागि चित्लाङ जाने क्रममा छोरी, जीवनसाथी र जन्मदिने बुबाआमा नै गुमाउँदा उनी विक्षिप्त छिन् ।

हाल डा। गौतमका बुबाआमा र दाइ अमेरिकामा छन् । दाइ लामो समयदेखि अमेरिका बस्दै आए पनि करिब एक महिनाअघि उनका बुबाआमा घुमघामका लागि अमेरिका गएका थिए । दुर्घटनाबाट मृत्यु भएका पाँचैजनाको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ भने उनीहरूको दाहसंस्कार मृतक गौतमका बुबाआमा र दाइ अमेरिकाबाट फर्किएपछि गर्ने बताइएको छ । मृतक डा. गौतमकी भान्जी स्मृति शर्मा तिवारीका अनुसार शनिबार घुमघामका लागि चित्लाङ जाने क्रममा दुःखद घटना भएको हो ।

उनका सहकर्मी तथा सञ्चारकर्मी पुरुषोत्तम घिमिरेका अनुसार डा। गौतम निकै सहयोगी र सरल थिए । उनले ज्ञानेश्वरमा रहेको रमेश चोखानीको आरबी डाइग्नोटिक सेन्टरमा पनि काम गर्दै आइरहेका थिए । ‘उहाँ निकै सजिलो र नेपालकै स्वास्थ्य क्षेत्रमा केही गर्नुपर्छ भनेर लागिपर्नुभएको थियो, तर दुःखद घटना भयो,’ उनले भने, ‘विदेश जाने कैयौँ अवसर आउँदा पनि जानुभएन, बालबालिकाको उपचारका लागि उहाँलेसस्तो र सुलभ सेवा दिँदै आउनुभएको थियो ।’ नयाँपत्रिकाबाट साभार


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट