Techie IT
Hetauda Khabar

राष्ट्रिय सभा निर्वाचन : बागमती प्रदेशमा १५ जनाको उम्मेदवारी दर्ता


हेटौंडा । राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका अनुसार आज हेटौंडा स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बागमतीमा ५ दलले आज उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचनमा बागमती प्रदेश तर्फ ४ सिटका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा महिला, अपाङ्गता, अल्पसङ्ख्यक, दलित र अन्य समूहका १–१ सिटका लागि प्रतिस्पर्धा हुनेछ ।

बागमती प्रदेश क्लस्टरको राष्ट्रिय सभा सदस्यको ४ पदको लागि गठबन्धन दल, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट १५ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलका अनुसार सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रको तर्फबाट श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीको तर्फबाट घनश्याम रिजालले मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेको तर्फबाट विवेक देवकोटा, त्रिलोचन निर्मल पौडेल, धुर्वराज विश्वकर्मा, रोजकुमारी चौलागाईँले मनोनयन दर्ता गराएका छन् ।

राप्रपाको तर्फबाट भने हेमजंग गुरुङ्, बालकुमारी ढल्लाकोटी, भरतमणि भट्टले मनोनयन दर्ता गराएका छन । दलित क्लस्टर तर्फ उम्मेदवार दिन आएका राप्रपाका पूर्ण बहादुर विश्वकर्मा उमेर हदका कारण उम्मेदवारी दिन नपाएको निर्वाचन अधिकृत सन्जेलले बताए ।

त्यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट श्रीकृष्ण महर्जन, कृष्णलक्ष्मी दुवाल, संगीता नेपाली र हिमालयश्वर मुलले पनि उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।

आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।

पदावधि सकिनेमध्ये बागमती प्रदेशबाट ४ जना रहेका छन् । खिमलाल देवकोटा, एमालेबाट रामचन्द्र राई, दिल कुमारी रावल थापा ‘पार्वती’, र एकीकृत समाजवादीबाट सिंग बहादुर विश्वकर्माको पदावधि फागुन २० मा सकिने भएको हो ।

उक्त पदहरूमा आगामी माघ ११ मा राष्ट्रिय सभा सदस्यका १९ पदमा निर्वाचन हुँदैछ ।

बागमती प्रदेशमा कूल प्रदेश सांसद ११० को ५ हजार ८३० मतभार, स्थानीय तहका २३८ जनप्रतिनिधिको ४ हजार ५२२ मतभार गरी कूल १० हजार ३५२ मतभार रहेको छ ।

यस प्रदेशमा कांग्रेसको कूल मतभार ४ हजार १३, एमालेको २ हजार ५७१, माओवादीको २ हजार १९६ मतभार रहेको छ । नेकपा एसको ५४२, राप्रपाको ७०८, हाम्रो नेपाली पार्टीको १०६, नेमकिपाको १९७ र स्वतन्त्रको १९ मतभार रहेको छ । जसमा गठबन्धनको प्रष्ट बहुमत देखिन्छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट