Techie IT
Hetauda Khabar

हेटौंडामा छठको रौनक, राप्ती तट भरिभराउ (तस्बिरहरु)


देशका विभिन्न भागमा जस्तै हेटौंडामा पनि छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिईएको छ । छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन हेटौंडाको राप्तितट सजाइएको छ ।

यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भीड लागेको छ । व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् ।

प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू आज रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । आज जलाशय क्षेत्रमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ । घाटलाई पनि बेहुली झैँ सिङ्गारिएको हुन्छ ।

छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ । सत्य र अहिंसाप्रति मानवको रुची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ । यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाइ प्रसादको रुपमा ग्रहण गर्ने चलन छ ।

कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ वत्र बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पुजा गरी मनाइने यो पर्व वर्षको दुई पटक चैत र कात्तिकमा मनाउने गरिन्छ । विधि विधानअनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ ।

श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायका सामग्रीको प्रयोग गर्ने गरिन्छ ।

रानीपोखरीमा उल्लासपूर्वक मनाउने गरिएको यो पर्व भूकम्पयता गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत कमलपोखरी, वाग्मती नदी किनारा, गौरीघाट, विष्णुमती किनार तथा यस्तै अन्य ताल तलाउमा गएर मनाउन थालिएको छ । यस पर्वले धार्मिक विश्वासका साथै पारिवारिक सुख र समृद्धि प्राप्त हुने मान्यता रहेको पाइन्छ ।

सूर्य पुराणअनुसार, सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसूया छठ व्रत बस्नुभएको थियो । फलस्वरूप उहाँले अटल सौभाग्य र पतिप्रेम प्राप्त गर्नुभयो । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरूआत भएको धार्मिक विश्वास छ । छठमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यस पर्वमा जो व्रत बस्न सक्दैन, उनीहरूले व्रत गर्नेबाट कामना पूरा गराउने चलन छ ।

 

 

 


क्याटेगोरी : फोटो फिचर, मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट