Techie IT
Hetauda Khabar

आज १३९औँ फाल्गुनन्द जन्मजयन्ती, राष्ट्र प्रमुखहरुबाट शुभकामना व्यक्त


किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिएका छन् ।

विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दले किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं तत्कालिन समाज सुधारका लागि नीति, योजना तर्जुमा गरी महत्वपूर्ण योगदान पुर्याएका थिए ।

उनले बनाएको नीतिलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । फाल्गुनन्दको निधन विसं २००५ मा भएको हो । किराँत समाज सुधारमा उनले पु¥याउनुभएको योगदानको कदर गर्दै ०६६ मङ्सिर १६ गते सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

यसै अवसरमा राष्ट्र प्रमुखले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गरेर तत्कालीन सामाजिक रूढीवादीको अन्त्य गरी समाजलाई सही बाटो देखाउँने तथा आर्थिक अनुशासन कायम गर्न महागुरु फाल्गुनन्दले दिएको मार्गनिर्देश अनुशरणीय रहेको बताएका छन् ।

सन्देशमा राष्ट्रपति पौडेलले सामाजिक चेतना फैलाउने महागुरु फाल्गुनन्द धार्मिक गुरु मात्र नभई सामाजिक अभियान्ताको रुपमा समाज सुधारक भएको उल्लेख गरेका छन् । उनले फाल्गुनन्द जयन्तीले सबैमा सद्भाव,सहिष्णुता,अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना सहित शुभकामना व्यक्त गरेका छन् ।

“फाल्गुनन्दले अपनाउनुभएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको छ, उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ”,विज्ञप्तिमा भनिएको छ।

उपराष्ट्रपति यादवले फाल्गुनन्दले अवलम्बन गरेको उच्च आदर्श, सद्विचार, पवित्र उद्देश्य किरात धर्म र संस्कृतिका लागि मात्रै नभई सिङ्गो नेपाली समाज र अन्य धर्मावलम्बीका लागि पनि उत्तिकै मार्गदर्शन गर्ने महत्वपूर्ण पक्ष भएको बताएका छन् ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले समाज सुधारक फाल्गुनन्दले किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेका छन् ।

उनले फाल्गुनन्दको उपदेशको सबैले अनुशरण गर्नुपर्नेमा जोड दिएका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘फाल्गुनन्दले अगाडि सार्नुभएको समाज सुधारका महत्वपूर्ण सामाजिक एवम् सांस्कृतिक पक्ष किरात धर्मावलम्बीका लागि मात्र नभई सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय रहेको छ ।’

किराँत धर्म, संस्कृतिको मौलिक पहिचान र संरक्षण तथा समाज सुधारमा पु¥याएको महत्वपूर्ण योगदान कदर गर्दै राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सम्मानमा पाँचथर, ताप्लेजुङ, झापा, तेह्रथुम, इलामलगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी उनको जन्मजयन्ती मनाउने गरिन्छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट