Techie IT
Hetauda Khabar

नवोदय नमुना संयुक्त राष्ट्र संघीय कार्यक्रम सम्पन्न


हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा भएको तीनदिने नवोदय नमुना संयुक्त राष्ट्र संघीय (मुन) कार्यक्रम शनिबार हेटौंडामा सम्पन्न भएको छ ।

नमूना महासभाका महासचिव रायन खनालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका वडाअध्यक्ष सिग्देलले शिक्षा क्षेत्रमा चौतर्फी विकास हुन आवश्यक रहेकोमा जोड दिएका थिए ।
‘विद्यार्थीले हासिल गरेको सर्टिफिकेट अहिले विक्नेवाला छैन ।’ सिग्देलले भने –‘प्लस टु पास गरेपछि विद्यार्थीहरु विदेशतर्फ आकर्षित भएका छन् । नेपालमै स्नातकोत्तर पढ्ने विद्यार्थीहरु कमै मात्रामा भेटिने गर्दछन् ।’
‘सरकारको लगानी सबैभन्दा बढी सरकारी विद्यालयमा हुने गर्दछ । तर नतिजा भने संस्थागत विद्यालय भन्दा सामूदायिक विद्यालयको खस्किदो अवस्थामा छ ।’ उनले भने –‘संस्थागत र सामूदायिक विद्यालयलाई मध्यनजर गरी हेटौंडा ४ नम्वर वडा कार्यालयले शिक्षालाई प्रमुख एजेण्डाको रुपमा लिएको छ । प्रतिस्पर्धाको माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्न वडाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।’
कार्यक्रममा पत्रकार सुरेश श्रेष्ठले नवोदय विद्यालयले विद्यार्थीहरुलाई अभ्यस्त बनाउनको निम्ति विद्यालयले विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेकोमा जोड दिएका थिए । नवोदय मुन कार्यक्रममा विद्यार्थीको मात्र उपस्थिती नभई यस कार्यक्रममा अभिभावक, सम्बन्धीत निकायहरुले पनि चासो दिनुपर्ने उनको भनाइ रहेको थियो ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र सुरक्षा परिषद्, आर्थिक र वित्तिय मामिला परिषद्, खाद्य र कृषि संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्र पर्यावरण, प्रतिनिधिसभाको बैठकमा विद्यार्थीहरुले विभिन्न एजेण्डामा रही उत्कृष्ट भूमिका निर्वाह गरेका विद्यार्थीलाई अवार्ड प्रदान गरेको थियो । नवोदय नमुना संयुक्त राष्ट्र संघीय कार्यक्रममा विभिन्न देशको प्रतिनिधित्व गरेका विद्यार्थीहरुले आफ्नो अनुभव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अङ्कुरम एकेडेमी चितवनका प्रिन्सिपल सुमन पौडेल, एपेक्स स्कूल बुटवलका प्रधानाध्यापक दिपक गौतम, जिइएस विद्यालय गैडाकोटका शैक्षिक निर्देशक विना कोइरालालगायतको आतिथ्यता रहेको थियो ।


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट