Techie IT
Hetauda Khabar

पत्रकार बन्जारा प्रकरण- प्रहरीको गलत अनुसन्धान, मुचुल्कादेखि सनाखत कागजसम्म झुठो !


हेटौंडाका पत्रकार रमेश बन्जराको जबर्जस्ती करणी अभियोग प्रकरणमा प्रहरीले गलत अनुसन्धान गरेको पाइएको छ । गत ३० चैतमा एक अपरिचित महिलाले आफुलाई बन्जाराले बलात्कार गरेको भन्दै उजुरी दिएकी थिईन् । समाचारको विषय छ भेट्नु पर्यो भन्दै बोलाएकी ति महिलालाई केही व्यक्तिले प्रलोभनमा पारी पुर्व योजना अनुसार बन्जाराविरुद्ध उजुरी दिन लगाएका थिए । उजुरी परेपछि प्रहरीले बन्जारालाई जिल्ला प्रहरी कार्यालयमा आउन आग्रह गरेको थियो । बन्जारा आएपछी जाहेरवाला महिलाले केही व्यक्तीले सिकाएअनुसार जबर्जस्ती गरेको हो भनेपछी प्रहरीले बन्जारालाई थुनामा राखेको थियो । पत्रकार बन्जारालाई फसाउन योजना बनाउने र संलग्न योजनाकारहरु संग प्रहरीनै मिलेको र ति योजनाकारलाई प्रहरीले नै सहयोग गरेको पाइएको छ ।

पहिलो दिनमै प्रहरीको गतिविधि संकास्पद

३० चैत २०७९, जुनदिन पत्रकार बन्जाराले जबर्जस्ती करणी गरेको भनिएको थियो, त्यसदिन दिउँसो २ बजेर ४६ मिनेटमा बन्जाराले ति महिलालाई आफ्नो स्कुटरबाट जिल्ला प्रहरी कार्यालय संगै रहेको साझा यातायात बसपार्क छेउमा ओराल्नेबित्तिकै केही व्यक्तीले ति महिलालाई फोन गर्छन् र अर्जुन तिवारी भन्ने व्यक्तिले प्रदेश ३ ०३-००२ प ७९३२ नम्बरको बुलेट मोटरसाइकलमा राखी घटनास्थल भनिएको ठाउँतिर लगेर सबै सिकाउछन् र उजुरी दिन प्रहरी कार्यालय पठाउछन् । त्यतिबेला अपरान्ह पौने ५ बजिसकेको हुन्छ । त्यतिबेला पत्रकार बन्जाराविरुद्धको किटानी जाहेरी तयार भैसकेको हुन्छ । हतार हतार प्रहरीले जाहेरी दर्ता गर्छ । ति महिलालाई ल्याप्चे लगाउनसमेत प्रहरीले नै सहयोग गर्छ ।

जाहेरी दर्ता गरेलगत्तै मुद्दाफाटबाट महिला सेलमा ति महिला जान्छिन् र योजनाकार र प्रहरीले भने अनुसारनै महिला सेलमा महिलाले आफ्ना कुरा राखेपछी बन्जारालाई प्रहरीले फोन गर्छ ।

बन्जारा प्रहरी परिसरमा पुगेपछी अनुसन्धानलाई सघाउने बताइरहदा तत्कालिन एसपी बामदेव गौतमले पिडित भनिएकी महिलाको किटानी जाहेरी नआएको बताएका थिए । जबकी प्रहरीले सोही दिन जाहेरी दर्ता गरेको थियो तत्काल अनुसन्धान सुरु गर्न र सिसिटिभी हेरेर घटना यकिन गर्न बारम्बार आग्रह गर्दासमेत एसपी गौतमले आलटाल गरीरहे । बन्जारा प्रहरी परिसर भित्र पस्ने बित्तिकैदेखि एसपी गौतमलाई जिल्लाका राजनीतिक दलका नेताको फोन लगातार आयो र बन्जारालाई कुनैपनि हालतमा नछोड्न दबाब आइरह्यो । त्यसपछि एसपी गौतमले घटना भए नभएको सामान्य अनुसन्धान पनि नगरी मुद्धा अगाडी बढाए ।

घटनास्थल मुचुल्का र साक्षि गलत  

जबर्जस्ती करणी एक अति संबेदनशील र जघन्य अपराधको मुद्धा हो । यस्तो विषयमा उजुरी पर्नासाथ प्रहरीले तत्काल घटना के हो बुझेर तत्कालै गहिरो अनुसन्धानमा प्रहरी पुगीहाल्नु पर्ने कानुनका जानकारहरु बताउछन् । तर त्यसदिन प्रहरीले घटना भएको हो या होईन भनि अनुसन्धानलाई सघाउ पुग्ने सरकारी निकायले राखेकै सिसिटिभी भुटेज हेर्न मानेन ।

जबर्जस्ती करणी जस्तो जघन्य अपराधको विषयमा तत्काल घटना स्थल मुचुल्का लिनुपर्ने हुन्छ । प्रमाण नष्ट गर्न सक्ने हुँदा यस्ता घटनाको तत्कालै नजिकैको प्रहरी कार्यालयले मुचुल्का लिनु पर्दछ । तर मिनेटको दुरीमा रहेको बारदात भयो भनिएको स्थलमा मुचुल्का लिन प्रहरी २ दिन पछी पुगेको थियो ।

अर्को अचम्मको कुरो के भने घटना स्थल मुचुल्का गर्दा प्रहरीले गलत साक्षि स्थापना गराई सहिछाप गराएको पाइएको छ । घटना भएको देखेको र थाहापाएको व्यक्ति भनेर प्रहरीले बाहिरी व्यक्तिलाई साक्षिको रुपमा उभ्याएको छ । घटनाबारे कुनै जनाकारीनै नभएका व्यक्तिलाई घर र कार्यालयमै भेट्न गई १५ सय भत्ता आउछ यहाँ सहिछाप गर्दिनुस भन्दै घटनास्थल मुचुल्का तयार पारेको प्रमाण हेटौंडाखबरले सुरक्षित राखेको छ ।

बलियो प्रमाण हेर्नै खोजेन

बन्जारा पक्राउ पर्नासाथ प्रहरीलाई पत्रकार महासंघ र जिल्लाका सम्पूर्ण पत्रारले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रमुख एसपी बामदेव गौतमलाई प्रहरी अनुसन्धानमा सहयोग गर्ने तर निस्पक्ष अनुसन्धान गर्नुपर्ने माग गरे । घटना भएको भनिएको दिन केही पत्रकारसाथी बिहानदेखि बन्जारा संगै रहेकाले सिसिटिभी हेर्न र सत्यतथ्य पत्ता लगाउन आग्रह गरे । प्रहरी कार्यालय परिसर भित्रैको सिसिटिभी हेर्न प्रहरीले आनाकानी गरिरह्यो ।

जिल्ला प्रहरी कार्यालय अगाडीकै आधाघण्टा अगाडिको सिसिटिभी फुटेज हेर्न प्रहरी डरायो । किनकी सत्यतथ्य प्रहरीपरिसर अगाडिकै क्यामरामा कैद भएको थियो । विभिन्न बाहानामा प्रहरीले उक्त सिसिटिभी फुटेज लुकाएर राख्यो ।

फुटेज मिडियाबाट बाहिरीएपछी प्रहरीद्वारा गलत सनाखत

प्रहरीले सिसिटिभी फुटेज लुकाएपछी हेटौंडाखबरले केहीदिन लगाएर हेटौंडाबजार र बारदात स्थल भनिएको क्षेत्रको सिसिटिभी फुटेज सार्वजनिक गर्यो । त्यसपछी प्रहरीलाई थप दवाव र अप्ठेरो अवस्था आइपर्यो ।

मिडिया तथा सामाजिक संजालमा घटना भएको स्थानमा ति महिला अर्कैको मोटरसाइकल देखिएको भिडिओ छ्याप्छ्याप्ती भएपछी प्रहरी अनुसन्धानलाई थप दवाव पुग्यो । त्यसपछी प्रहरीले गलत सनाखत गरायो । प्रहरीले मिडियामा आएको र फुटेजमा देखिएको महिला म होईन भन्ने कागज बनाइ सनाखत गराएको प्रमाण हेटौंडाखबरसंग सुरक्षित छ ।

सिसिटिभी बाहिरिएपछी प्रहरीले जाहेरी दिने महिलालाई भेट्न मनहरीसम्म पुगेर बुलेट बाइकमा देखिएकी महिला म होईन भन्ने सनाखत गरी ति महिलालाई सहीछाप गर्न लगाएको थियो । जवकी अर्जुन तिवारीले ति महिलालाई सिसौघारी तर्फ लगेर शवदाह स्थलसम्म ल्याएर छाडेर फर्किएका थिए ।

सिसिटिभी फुटेज हेटौंडाखबरबाट सार्वजनिक भएपछी प्रहरीले जाहेरी दिने महिलालाई उक्त मोटरसाइकलमा रहेको महिला म होइन भन्ने सनाखत कागज बनाएको थियो । सो कुरा अहिले अदालतमा ति महिलाले प्रहीले बनाएको उक्त सनाखत कागज झुठो भएको बयानसमेत दिईसकेकी छन् ।

सिसिटिभी फुटेज अदालत पेश गरेन

२५ दिन बन्जारालाई प्रहरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरह्यो । आफ्नो अनुसन्धान सकेर अदालतलाई सम्पूर्ण विवरण बुझाउदा प्रहरीले आफैसंग भएको सिसिटिभी क्यामराको फुटेज भने पेश गरेन ।

जाहेरवाला महिलालाई राप्ती खोलाको सिसौघारी तर्फ लागेको, ल्याएकोदेखि बन्जारा गएको आएको सबै सिसिटिभीमा कैद भएको फुटेज प्रहरीसंगै भएपनि प्रहरीले अदालतमा उक्त प्रमाण पेश गरेन । तर बन्जाराका कानुनि व्यवसायीले मकवानपुर जिल्ला अदालतबाट सिसिटिभी फुटेज पेश गर्ने आदेश गराएरपछी बल्ल प्रहरीले फुटेज पेश गर्यो, तर पुनः प्रहरीले यतीसम्मको चलाखी गर्यो कि केहीदिन अघि मिडियामा सार्वजनिक भएका र देखिएका फुटेजमात्र प्रहरीले पेश गर्यो । जाहेरवाला महिला घटनास्थल तर्फ गएको, अन्य व्यक्तिसंग सम्पर्कमा गएको कुनै फुटेज प्रहरीले पेश गरेन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी निरिक्षक रामचन्द्र घिमिरे अनुसन्धान अधिकृत तोकिएको यस मुद्दामा पत्रकार रमेश भनिने इन्द्र प्रसाद बन्जारालाई गलत मुद्धा चलाउन र निर्दोष व्यक्तिलाई दोषी ठहर गर्न प्रहरीको उल्लेख्य भूमिका रहेको स्पस्ट देखिएको छ ।

गत ३० चैतमा एक महिलाले आफुलाई बन्जाराले बलात्कार गरेको भन्दै उजुरी दिएकी थिईन् । बन्जारा हाल पुर्पक्षका लागि भीमफेदी कारागारमा छन् ।

पत्रकार बन्जारा प्रकरण- फसाउन लगाउनेको नाम खुलाए गोली हानेर मारीदिने धम्की

पत्रकार बन्जारा प्रकरणमा महिलाको बयान-‘जाहेरी नपढी सहीछाप गरे, घटना भएको हैन, बुलेटमा देखिएकी मै हुँ’

पत्रकार बन्जारा प्रकरण- बुलेटवाला अर्जुन तिवारी भएको पुष्टि

पत्रकार बन्जारा प्रकरण- बुलेट बाइक वाला को हो ? किन गर्दैन प्रहरीले अनुसन्धान ?

अपरिचित महिला प्रयोग गरी हेटौंडाका पत्रकार बन्जारालाई फसाउने प्रयास ( हेर्नुहोस् सिसिटिभी फुटेज)


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट