Techie IT
Hetauda Khabar

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताल अलग्याउन आग्रह


मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग्याएर व्यवस्थित रुपमा संचालनको माग गरिएको छ ।सत्तापक्षका नेताहरुले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट हटाएर अलग्गै सञ्चालन गर्नुपर्ने धारणा बनाएका हुन् । अस्पताल र प्रतिष्ठानको सेवाप्रवाह लगायतका स्वास्थ्य क्षेत्रमा अध्ययन गर्न गठित टोलीको संयोजकमा रुपमा रहेका नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महत, नेकपा माओवादी केन्द्रका सचिव भीम पाख्रिन, नेकपा एकीकृत समाजवादीका सचिव ध्रुव भुजेल तथा टोलीको विज्ञ सदस्यको रुपमा रहेका हेटौंडा अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष प्रकाश पौडेलले प्रतिष्ठानबाट अस्पताललाई अलग्याएर छुट्टै सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको कार्यकालमा संशोधन विधेयक प्रदेशसभामा टेबलु गराएर अस्पताललाई प्रतिष्ठानबाट अलग्याउन खोजिएको थियो । तर, नेकपा एमालेको चर्को विरोधपछि प्रतिष्ठानबाट अस्पताल अलग्याउने योजना तत्काललाई ब्रेक लागेको थियो । हेटौंडा अस्पतालको स्तरोन्नति हुनुमा प्रतिष्ठान मातहत सञ्चालन भएर हो भन्ने स्थापित गराउन खोजिए पनि सत्ता पक्षकै नेताहरुले पत्रकार सम्मेलन गरेर अस्पताललाई विगतमा जस्तै संघीय मातहत सञ्चालनमा ल्याउनुपर्ने निष्कर्श निकालेका हुन् । अस्पताल हाल प्रतिष्ठान मातहत सञ्चालन भइरहेको छ ।

प्रतिष्ठानको आफ्नै अस्पताल निर्माण नहुँदासम्म हेटौंडा अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोग गर्न सुझाव दिएको अध्ययन टोलीका संयोजक महतले बताए ।
‘संविधानमा गरिएको व्यवस्था अनुसार हेटौंडा अस्पताल जनताका लागि निःशुल्कलगायतका स्वास्थ्यसेवा उपलब्ध गराउने एकमात्र संस्था भएकाले यसको अस्तित्व र सेवामा आँच आउने कुनै पनि कदम चालिनु हुँदैन ।’, पत्रकार सम्मेलनमा कांग्रेस सचिव तथा समिति संयोजक महतले भने । हेटौंडा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्दै विगतमा नेपाल सरकारबाट भएको निर्णय कार्यान्वयन गर्दै तीनसय बेडमा स्तरोन्नति गरी दरबन्दी कायम गर्न समेत समितिले माग गरेको छ ।

प्रतिष्ठानको उद्देश्य पूरा गर्न समितिले छिट्टोभन्दा छिट्टो आवश्यक जग्गा उपलब्ध गराउन समेत प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । समितिले मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान र स्वास्थ्य मन्त्री उत्तम जोशीको ध्यानाकर्षण गराउँदै प्रतिष्ठानको सम्पूर्ण क्षमताको अध्यापन नगराउँदासम्म पाँचसय वेडको अस्पताल आवश्यक पर्ने भएकाले सोही क्षमताको अस्पतालको योजना बनाएर तत्काल काम सुरु गर्न अनुरोध गरेको छ । समितिले अस्पतालमा देखिएको विकृतिको विरुद्धमा आवाज उठाउँदै सुधारका लागि प्रदेश सरकारलाई सुझाव दिने जानकारी दिएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट