Techie IT
Hetauda Khabar

दिपक सिहंले मेयरमा ल्याएको भोट जोगाउन सक्लान् ?


मकवानपुरमा दुईवटा प्रतिनिधिसभा क्षेत्र छन् । जसमध्ये १ नम्बर क्षेत्रको चुनावी प्रतिस्पर्धा २ नम्बर क्षेत्रको भन्दा रोचक छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राप्रपा नेपालका अध्यक्ष (एमालेबाट उम्मेदवार) कमल थापा, नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र राप्रपाका दिपकबहादुर सिंहबीचको प्रतिस्पर्धा रोचक छ । रोचक यसकारण पनि छ कि यी तिनै जना उम्मेदवार मकवानपुरका कम्युनिष्ट उम्मेदवारसँग पटक–पटक पराजित हुँदै आए । कम्युनिष्टसँग प्रत्यक्ष निर्वाचन जितेर संसद छिर्न नपाएका उनीहरूलाई आगामी निर्वाचनमा हार्ने छुट छैन ।

२०४८ सालदेखि भएका आमनिर्वाचन, मध्यावधि र संविधानसभा निर्वाचनमा थापा, डिना र सिंहले एमालेका उम्मेदवारसँग हार्दै आएका हुन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा भने यी तिन जना घाइतेहरू प्रतिष्ठाको लडाइँमा छन् । हालसम्म प्रत्यक्ष निर्वाचिन जित्न नसकेका राप्रपाका दिपकबहादुर सिंह त्रिपक्षीय प्रतिस्पर्धाको ‘हट केक’ उम्मेदवार हुन् ।

यसअघि संविधानसभा निर्वाचनसमेत लडेका सिंह गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयरका उम्मेदवार थिए । मेयरमा भएको त्रिपक्षीय भिडन्तमा पराजित हुन पुगे पनि सिंहले ल्याएको भोट आश्चर्यजनक थियो । तीन दशकदेखि एमालेले राज गर्दै आइरहेको तथा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको शक्ति अगाडि हेटौँडामा २० हजार भोट कटाउन सिंहका लागि चानचुने थिएन ।

हेटौँडामा ठूला दलको तुलनामा राप्रपाको जनमत थोरै भए पनि सिंहले स्थानीय तह निर्वाचनमा २० हजार ५ सय ३१ मत ल्याएका थिए । कुल ७३ हजार ४ सय १४ मत खसेकोमा मेयरमा निर्वाचित गठबन्धनबाट एकीकृत समाजवादीकी मिनाकुमारी लामाले २३ हजार ६७ मत ल्याएकी थिइन् । एमालेका मेयर उम्मेदवार अनन्त प्रसाद पौडेलले कुल २० हजार ९ सय ८ मत ल्याएका थिए । मतपरिणामले पनि गठबन्धन र एमालेका उम्मेदवारबीच सिंह शक्तिशाली देखिन्थे ।

सिंहले स्थानीय तह निर्वाचनमा हेटौँडाबाट ल्याएको मत आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा जोगाउन सक्छन वा सक्दैनन् त्यसका लागि अन्तिम मतपरिणाम कुर्नुपर्छ । तर, १ नम्बर क्षेत्रमा गठबन्धनकी उम्मेदवार डिना र एमालेका उम्मेदवार थापाका लागि सिंह टाउको दुखाइ बनेका छन् ।

हेटौँडाका १९ वटा वडामध्ये १५ वटा वडा १ नम्बर क्षेत्रभित्र पर्छ । हेटौँडासँगै बागमती, बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको १ देखि ४ नम्बर सम्मका वडा १ नम्बर क्षेत्रमा पर्छन् । मकवानपुरको दुईवटा प्रतिनिधिसभा क्षेत्रमध्ये पुराना राप्रपाका नेता, कार्यकर्ता १ नम्बर क्षेत्रमा बढी रहेका छन् । जसकारण सिंहलाई निर्वाचनमा थप सहज बनेको राप्रपा मकवानपुरका उपाध्यक्ष शंकर सिंह ठकुरी बताउँछन् ।

ठकुरीले मेयरमा आएको भन्दा बढी मत प्रतिनिधिसभा निर्वाचनमा आउने दाबी गर्छन् । ‘हामी हरेक मतदाताको घरमा पुग्दा यसपटक दिपक सिंहलाई जिताउने वाचा गरेको पाएका छौँ । हाम्रो अध्ययनले मेयरमा भन्दा बढी मत हेटौँडाबाट आउँछ । ३० हजार मत मात्रै हेटौँडाबाट ल्याउन हुन्छ,’ ठकुरीले भने ।

मेयरमा ल्याएको मत जोगाउँदा पनि सिंहलाई गठबन्धनकी डिना र एमालेका थापासँगको प्रतिस्पर्धा जित्न सहज भने छैन । सिंहका लागि बागमती र बकैया गाउँपालिकामा कठिन रहेको राप्रपा उपाध्यक्ष ठकुरी स्वीकार गर्छन् । बागमतीमा एमाले र नेकपा माओवादी केन्द्रको पकड क्षेत्र हो । बागमतीमा कांग्रेस, राप्रपा र राप्रपा नेपालको जनमत कमजोर छ ।

बागमतीमा सिंहलाई मात्र हैन, डिनालाई पनि मुस्किल पर्ने देखिन्छ । बकैयामा एमाले र कांग्रेसको जनमत राम्रो छ । १ नम्बर क्षेत्र थापाले निरन्तर निर्वाचन लड्दै आएको क्षेत्र हो । आफू पटक–पटक निर्वाचन लडेको र ४० वर्षभन्दा बढी राजनीतिक जीवनमा विकास गरेको क्षेत्रमा आफू कमजोर नहुने उनले बताए।

थापाका लागि सिंह टाउको दुखाइ बन्नुको कारण उनले एमाले र राप्रपा नेपालको मत काट्न सक्ने भएकाले हो । स्थानीय तह निर्वाचनमा सिंहले एमालेको मत काटेका थिए । एमालेको राम्रो पकड भएको हेटौँडाका अधिकांश वडामा सिंहले धेरै मत पाएका थिए । थापा एमालेबाटै उम्मेदवार भएकाले उनलाई सिंहदेखि थप संकट परेको राजनीतिक वृत्तमा चर्चा छ ।

गठबन्धनकी डिनाले आफ्नो जित सुनिश्चित भएको दाबी गरेकी छन् । तर, डिनाको राजनीतिक भूगोल भने २ नम्बर क्षेत्र हो । १ नम्बर क्षेत्रमा डिनाको व्यक्तिगत मत राम्रो नभएको आकलन छ । तर, स्थानीय तह निर्वाचनमा गठबन्धनभित्र अन्तर्घात नदेखिएको अवस्थालाई आधार मान्दा डिना कमजोर उम्मेदवार भने होइनन् । डिनालाई हेटौँडामा सिंहले आफ्नो मत नकाट्ने आकलन छ ।

शिलापत्रबाट 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #आमनिर्वाचन, #चुनाव, #दिपक सिहं, #निर्वाचन, #प्रतिनिधिसभा, #मकवानपुर

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट