Techie IT
Hetauda Khabar

वर्ल्डलिङ्कको नयाँ योजना- भने जति इन्टरनेट स्पिड नभए ग्राहकको पैसा फिर्ता


नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले ‘मनी ब्याक ग्यारेन्टी’ नामक नयाँ सुविधा सुरु गरेको छ । भनेजस्तो गुणस्तरीय सेवा दिन नसके पैसा फिर्ता दिने सुनिश्चितता सहित कम्पनीले शुक्रबार यस्तो प्रोडक्ट सार्वजनिक गरेको हो ।

प्रतिवद्धता जनाए अनुसारको गुणस्तरीय सेवा र स्पिड ग्यारेन्टी गर्न यस्तो प्रोडक्ट ल्याइएको वर्ल्डलिङ्कले जनाएको छ ।

“यसरी मनी ब्याक ग्यारेन्टी गर्ने वर्ल्डलिङ्क नेपालकै पहिलो इन्टरनेट सेवाप्रदायक कम्पनी हो,” कम्पनीले भनेको छ । ग्राहकले वर्ल्डलिङ्कको इन्टरनेट सेवा प्रयोग गरिरहँदा कुनै समस्या आए कम्पनीमा गुनासो टिपाउन सक्नेछन् ।

गुनासो टिपाउँदा समेत उक्त समस्या समाधान भएन अथवा कम्पनीको सेवा चित्त बुझ्दो भएन भने बाँकी दिन बराबरको रकम फिर्ता पाउन सकिने बताइएको छ । हाल यस किसिमको सेवा देशका विभिन्न ५३ ओटा स्थानमा उपलब्ध गराइएको छ ।

त्यसो त यसअघि देखि नै कम्पनीले ‘तुरुन्तै’ नामक सुविधा समेत दिइरहेको छ । जसमा कुनै कारण इन्टरनेट नचले वा सेवा अवरुद्ध भए सो समय बराबरको अवधि प्याकेजमा थप गरिदिने व्यवस्था मिलाइएको छ ।

तर ‘मनी ब्याक ग्यारेन्टी’ भने समस्या समाधान गर्न नसकेको अवस्थामा अर्थात चित्त बुझ्दो नलागेर वर्ल्डलिङ्कको सेवा प्रयोग गर्न नचाहने ग्राहकको हकमा यो लागू हुनेछ ।

उदाहरणको लागि तपाईंले १६ हजार ६०० रुपैयाँ पर्ने ३०० एमबीपीएस गतिको एक वर्षको इन्टरनेट प्याकेज लिनु भएको छ र जडान गरेको तीन महिना जति मात्रै भएको छ भने कम्पनीले चित्त बुझ्दो सेवा दिन नसकेको अवस्थामा यो सुविधा प्राप्त गर्न सकिनेछ ।

यस्तो अवस्थामा तपाईंले नौ महिनाको ११ हजार ७०० रुपैयाँ तपाईंले फिर्ता पाउनु हुनेछ । यद्यपि यसरी पैसा फिर्ता लिन यो सुविधा उपलब्ध कम्पनीको नजिकैको कार्यालयमा जानु पर्ने हुन्छ ।

राउटर तथा नेटटिभी बक्स बुझाउनु पर्ने भएकाले कार्यालयमै आउनु पर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यो सुविधा २०० एमबीपीएस भन्दा माथिको प्याकेजका लिएका ग्राहकका लागि मात्रै उपलब्ध हुने बताइएको छ ।


क्याटेगोरी : समाचार, सुचना-प्रविधि, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट