Techie IT
Hetauda Khabar

मनाङ मर्स्याङदीले जित्यो मकवानपुर गोल्डकपको उपाधि


हेटौंडामा भएको पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को उपाधि मनाङ मर्स्याङदी क्लबले  जितेको छ ।

बुधबार हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनल खेलमा हिमालयन शेर्पालाई १–० गोलअन्तरले पराजित गर्दै मनाङ च्याम्पियन भएको हो ।

मनाङको जीतमा एकमात्र निर्णायक गोल रोशन रानामगरले गरेका थिए । उनले खेलको ७८ औं मिनेटमा गोल गरे। उनी खेलको म्यान अफ दी म्याचसमेत घोषित भए ।

उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । मनाङले उपाधिसँगै नगद १५ लाख र शेर्पाले १० लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा मनाङका कप्तान तथा गोलकिपर दीप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको बुलेट मोटरसाइकलसमेत जित्न सफल भए ।

यस्तै उत्कृष्ट गोलरकिपर मनाङका दीप कार्की, डिफेन्डर हिमालयन शेर्पाका अमित श्रेष्ठ , मिडफिल्डर मनाङका कमल थापा, फरवार्ड हिमालयन शेर्पाका योउमी र प्रशिक्षकमा मनाङका किरन श्रेष्ठ उत्कृष्ट घोषित भएका थिए । उनीलाई ट्रफि सहित जनही २५–२५ हजार नगद प्रदान गरिएको थियो ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगिता माघ २८ गतेबाट सञ्चालन भएको थियो । प्रतियोगितामा एक विदेशी क्लब सहित १२ टोलीको सहभागिता रहेको थियो ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट