Techie IT
Hetauda Khabar

हेटौंडाको शिव शिखर सहकारीको सञ्चालक फरार, बचतकर्ताले घेरे गार्डेन मार्ट


शिव शिखर सहकारी बन्द गरेर सञ्चालक फरार भएपछि बचतकर्ताको करोडौं रुपैयाँ बचत जोखिममा परेको छ । बुधबार सहकारीको कार्यालयमा चल्ती खातामा रहेको रकम झिक्न आएका बचतकर्ताहरूले ढोकामा ताल्चा लगाएको देखेपछि अन्य शेयर सदस्यहरूलाई बोलाएर आन्दोलन गरेका छन् । सहकारीको ढोकामा ताल्चा लागेको बचतकर्ता बिमल उप्रेतीले  बताए ।

हेटौँडामा पुस २०७७ मा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरको शाखा खोलिएको थियो । हेटौँडामा यो सहकारीको १६ औं शाखा हो । सहकारीले करिब ३ करोड रुपैयाँको लागतमा डिपार्टमेन्ट स्टोर गार्डेन मार्ट पनि सञ्चालन गरेको छ । मार्टबाट घरायसी, खाद्यान्न, इलेक्ट्रोनिक्स, कपडा, पेय पदार्थ लगायतका वस्तु बिक्री हुने गरेको छ । सहकारीको ढोका बन्द भएपछि बचतकर्ताहरूले मार्ट घेराबन्दी गरिरहेका छन् ।

सहकारीका अध्यक्षदेखि कर्मचारीसम्मको फोन स्वीचअफ रहेको बचतकर्ता उप्रेतीले बताए । ‘हामी यहाँ आएर फोन गरेको सबैको फोन स्वीचअफ छ । सबै भागिसके भन्ने सुन्नमा आएको छ । अब मार्ट बन्द गर्न हामी आएका हौं,’ उनले भने । बचतकर्ता उप्रेतीका अनुसार सहकारीमा हेटौंडाबासीको करोडौं रुपैयाँ बचत रहेको छ । ‘एउटै व्यक्तिको ८६ लाखसम्म छ । १० लाखदेखि ३० लाखसम्म बचत गर्ने त धेरै हुनुहुन्छ,’ उप्रेतीले  भने ।

सहकारीले बचतकर्ताहरूको रकम कहाँ लगानी गरेको भनेर जवाफ नदिएको उनीहरूको भनाइ छ । शिव शिखरसँग हेटौँडाबासीहरूले बचत फिर्ता मागेको घटना करिब एक महिना अगाडिदेखिको हो । सहकारीले करिब १ महिना अघि नै ढोकामा ताल्चा लगाएको थियो । तर, जिल्ला प्रहरी कार्यालय मकवानपुरमा एक महिनाभित्र बचत रकम फिर्ता गर्ने सहमति भएपछि पुनः खोलिएको थियो । रकम फिर्ता गर्ने सहमतिको म्यादसमेत गुज्रिइसकेको र हाल सञ्चालकहरू फरार रहेको अर्का बचतकर्ता सुवास चौलागाईले बताए ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट