Techie IT
  • २४ कात्तिक २०८३, मंगलबार
Hetauda Khabar
  • २४ कात्तिक २०८३, मंगलबार

मकवानपुरमा लागूऔषधविरुद्ध प्रहरी कारबाही तीव्र,अफिमको बरामद झन्डै दोब्बर, मनोद्विपक पदार्थ चार गुणा बढी

एक वर्षमै ४०४ पक्राउ, मुद्दा १९ प्रतिशत र पक्राउ ४० प्रतिशतले बढ्यो


मकवानपुरमा लागूऔषधविरुद्ध प्रहरीको कारबाही पछिल्लो वर्ष थप तीव्र भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा लागूऔषधसम्बन्धी २२४ मुद्दा दर्ता भएका छन् भने ४०४ जना पक्राउ परेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १८८ मुद्दामा २८९ जना पक्राउ परेका थिए।

ADVERTISEMENT

यस आधारमा एक वर्षमा लागूऔषधसम्बन्धी मुद्दा ३६ वटा अर्थात् करिब १९ प्रतिशतले बढेको छ भने पक्राउ पर्ने व्यक्तिको संख्या ११५ अर्थात् करिब ४० प्रतिशतले वृद्धि भएको छ। मुद्दा र पक्राउको पछिल्लो दुई वर्षको तथ्यांकले मकवानपुरमा लागूऔषध नियन्त्रणका लागि प्रहरीको सक्रियता उल्लेख्य रूपमा बढेको देखाउँछ।

तीन आर्थिक वर्षको तथ्यांक हेर्दा पनि लागूऔषधसम्बन्धी मुद्दा निरन्तर बढेको देखिन्छ। आ.व. २०८०/८१ मा १५८ मुद्दा दर्ता भएकोमा २०८१/८२ मा १८८ र २०८२/८३ मा २२४ पुगेका छन्। यही अवधिमा पक्राउ पर्ने मानिसको संख्या क्रमशः २४९, २८९ र ४०४ पुगेको छ।

पछिल्लो आर्थिक वर्षमा लागूऔषध ओसारपसारमा प्रयोग भएका सवारी साधन नियन्त्रणमा समेत उल्लेख्य वृद्धि भएको छ। २०८१/८२ मा २९ वटा सवारी साधन पक्राउ परेकोमा २०८२/८३ मा ६७ वटा पक्राउ परेका छन्। यो अघिल्लो वर्षको तुलनामा ३८ वटा बढी अर्थात् करिब १३१ प्रतिशतको वृद्धि हो।

तर लागूऔषध बरामदको तथ्यांक भने सबै पदार्थमा एउटै प्रकृतिको छैन। मकवानपुरमा परम्परागत रूपमा ठूलो परिमाणमा बरामद हुँदै आएको गाँजाको मात्रा पछिल्लो वर्ष उल्लेख्य रूपमा घटेको छ।

आ.व. २०८१/८२ मा ५ हजार ५५९ किलो गाँजा बरामद भएकोमा २०८२/८३ मा २ हजार ६२९ किलो मात्र बरामद भएको छ। एक वर्षमा गाँजा बरामद २ हजार ९३० किलोले घटेको हो, जुन करिब ५३ प्रतिशत कमी हो। गाँजा बरामद घटे पनि अफिमको बरामद भने झन्डै दोब्बर भएको छ। अघिल्लो आर्थिक वर्ष २६ किलो ८८ ग्राम अफिम बरामद भएकोमा २०८२/८३ मा ४९ किलो ९२० ग्राम बरामद भएको प्रहरीको तथ्यांक छ। एक वर्षमा २३ किलो ८३२ ग्रामले बढेको अफिम बरामद करिब ९१ प्रतिशतले वृद्धि भएको हो।

चरेसको बरामदमा पनि वृद्धि भएको छ। २०८१/८२ मा १०४ किलो ५ ग्राम चरेस बरामद भएकोमा चालु आर्थिक वर्षमा १२५ किलो ९८६ ग्राम बरामद भएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब २१ प्रतिशत बढी हो। यसको विपरीत खैरो हेरोइन बरामद भने घटेको छ। अघिल्लो आर्थिक वर्ष ४७२ ग्राम बरामद भएकोमा २०८२/८३ मा ३३० ग्राम ७३१ मिलिग्राम बरामद भएको छ। यसमा करिब ३० प्रतिशत कमी आएको छ।

मकवानपुर प्रहरीको तथ्यांकमा सबैभन्दा बढी देखिएको परिवर्तन भने मनोद्विपक पदार्थको बरामदमा हो। आ.व. २०८१/८२ मा ८ हजार ५० क्याप्सुललगायत मनोद्विपक पदार्थ बरामद भएकोमा २०८२/८३ मा यो संख्या बढेर ३७ हजार २९० क्याप्सुल पुगेको छ। एक वर्षमा २९ हजार २४० क्याप्सुलको वृद्धि भएको हो। प्रतिशतमा यो वृद्धि करिब ३६३ प्रतिशत अर्थात् चार गुणाभन्दा बढी हो।

तीन वर्षको तथ्यांकमा पनि मनोद्विपक पदार्थको बरामदमा पछिल्लो वर्ष आएको उछाल स्पष्ट देखिन्छ। २०८०/८१ मा ८ हजार २०५ क्याप्सुललगायत पदार्थ बरामद भएकोमा २०८१/८२ मा ८ हजार ५० र २०८२/८३ मा ३७ हजार २९० पुगेको छ।

मुद्दा, पक्राउ र सवारी साधन नियन्त्रणको बढ्दो संख्या तथा विभिन्न पदार्थको बरामदमा देखिएको उतारचढावले मकवानपुरमा लागूऔषध नियन्त्रणको चुनौती अझै गम्भीर रहेको संकेत गरेको छ । विशेषगरी गाँजा बरामद घटिरहेका बेला अफिम र चरेसको मात्रा बढ्नु तथा मनोद्विपक पदार्थको बरामदमा असाधारण वृद्धि हुनु लागूऔषधको स्वरूप र ओसारपसारको प्रवृत्ति बिकराल बन्दै गैरहेको देखिएको छ ।

मकवानपुरमा पछिल्लो तीन वर्षको अवस्था हेर्दा लागूऔषधसम्बन्धी मुद्दा १५८ बाट २२४ पुगेका छन् भने पक्राउ पर्ने मानिस २४९ बाट ४०४ पुगेका छन्। यसले प्रहरी कारबाहीको विस्तारलाई मात्र होइन, लागूऔषध नियन्त्रणमा जिल्लाले सामना गरिरहेको निरन्तर चुनौतीलाई समेत उजागर गरेको छ।

प्रहरीको पछिल्लो तथ्यांकले मकवानपुरमा लागूऔषधविरुद्धको कारबाही बढेको छ, तर लागूऔषधको प्रकृति भने एउटै ढाँचामा छैन। गाँजा घटेको छ, अफिम र चरेस बढेका छन् र मनोद्विपक पदार्थको बरामदमा ठूलो उछाल आएको छ।

सूचक                      आ.व. २०८०/८१                           आ.व. २०८१/८२                                    आ.व. २०८२/८३
मुद्दा दर्ता १५८ १८८ २२४
मानिस पक्राउ २४९ २८९ ४०४
सवारी साधन ३९ २९ ६७
गाँजा ३,३३६ किलो ५,५५९ किलो २,६२९ किलो
चरेस १०४ किलो १०४ किलो ५ ग्राम १२५ किलो ९८६ ग्राम
अफिम १३ किलो २६ किलो ८८ ग्राम ४९ किलो ९२० ग्राम
खैरो हेरोइन ७८ ग्राम ४७२ ग्राम ३३० ग्राम ७३१ मिलिग्राम
मनोद्विपक पदार्थ ८,२०५ क्याप्सुललगायत ८,०५० क्याप्सुललगायत ३७,२९० क्याप्सुललगायत

जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा आधारित 


प्रकाशित मिति : बुधबार, २०८३ भदौ २४, १६ :१७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट