जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुमति नलिई सञ्चालनमा रहेका शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा तथा भाषा शिक्षण संस्थालाई तीन दिनभित्र बन्द गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीद्वारा जारी सार्वजनिक सूचनामा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भएका संस्थामाथि कारबाही गरिने चेतावनी दिइएको हो ।
प्रशासन कार्यालयले जारी गरेको सूचनामा मकवानपुर जिल्लाभित्र शैक्षिक परामर्श सेवा, भाषा शिक्षण तथा पूर्वतयारी कक्षा सञ्चालन गर्न सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ । तर आवश्यक अनुमति नलिई गैरकानुनी रूपमा यस्ता संस्था सञ्चालन भइरहेको जानकारी प्राप्त भएपछि सार्वजनिक सूचना जारी गरिएको प्रशासनको भनाइ छ । सूचनामा यस्ता संस्थालाई सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र सम्पूर्ण शैक्षिक तथा प्रशासनिक गतिविधि पूर्ण रूपमा बन्द गर्न निर्देशन दिइएको छ । अन्यथा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।
पछिल्लो समय हेटौंडामा भाषा शिक्षण, आईईएलटीएस, जापानीज भाषा, कोरियन भाषा तथा विदेश अध्ययन परामर्शका नाममा खुलेका कन्सल्टेन्सीहरूको संख्या तीव्र रूपमा बढेको छ । तर तीमध्ये धेरै संस्था आवश्यक दर्ता, नवीकरण तथा मापदण्डबिना सञ्चालनमा रहेको गुनासो बढ्दै गएको छ ।
यसअघि पनि हेटौंडाखबरले हेटौंडामा सञ्चालन भइरहेका कतिपय कन्सल्टेन्सी गैरकानुनी रूपमा सञ्चालनमा रहेको, फर्जी कागजातका आधारमा काम भइरहेको तथा विद्यार्थी र अभिभावक ठगिने अवस्था बढेको विषयमा समाचार प्रकाशित गरेको थियो ।
कतिपय कन्सल्टेन्सी कुनै पनि निकायमा दर्ता नभई सञ्चालनमा रहेका छन् भने केहीले नियमअनुसार नवीकरणसमेत नगरी सेवा दिइरहेका छन् । विदेश अध्ययनका नाममा चर्को शुल्क असुल्ने, गलत परामर्श दिने तथा अवैध रूपमा भिसा प्रोसेसिङ गर्ने कार्यसमेत भइरहेको आरोप लाग्दै आएको छ ।
प्रतिक्रिया