Techie IT
Hetauda Khabar

अस्पतालको बोर्ड केरमेट घटनाका आरोपी ४ घण्टादेखि प्रहरी कार्यालयमा, के गर्ने भन्नेमा प्रहरी नै अलमल्ल


गत चैत ३० गते हेटौंडा अस्पतालमा रहेको बोर्डमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान लेखिएको शब्द मेटाएको आरोप लागेका ३ जना युवा प्रहरी कार्यालयमा उपस्थित हुँदासमेत प्रहरीले नियन्त्रणमा लिई थुनामा राख्ने कि नराख्ने विषयमा प्रहरी नै अलमलमा परेको छ ।

हेटौंडाका सुनिल गिरी, सफल अधिकारी र विशाल राज महत बिहान १० बजेदेखि जिल्ला प्रहरी कार्यलय मकवानपुर बसेका छन्,तर प्रहरीले भने उनीहरुलाई बैठक कोठामा होल्ड गराएर राखेको छ ।उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताइएको थियो ।

बोर्ड मेट्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई प्रहरीले खोजि गरिरहेको बताएको थियो । तर उनीहरू ४ घण्टादेखि प्रहरी कार्यालयमै रहदासमेत माथिको आदेश के आउँछ त्यसपछि छलफल गरौंला भन्दै होल्ड गराएर राखेको छ ।

विशाल राज महतको नेतृत्वमा हेटौंडामा युवाहरुले अस्पताललाई प्रतिष्ठानमा गाभ्न नहुने भन्दै केही समय अघिदेखि आवाज उठाउँदै आइरहेका थिए । गत ३० चैतमा आफ्नो साङ्केतिक विरोध स्वरुप अस्पतालको बोर्डबाट ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ मेटाएका थिए भने ‘हेटौंडा अस्पताल’ मात्र लेखिएको नयाँ व्यानर राखेका थिए ।

बोर्ड मेटिएपछी प्रतिष्ठानले बोर्ड तोडफोड गरिएको र केरमेट गरेको भन्दै प्रहरीमा उजुरी दिएको थियो । सोही उजुरीको आधारमा प्रहरीले उक्त घटनामा संलग्नलाई खोजतलास गरेको थियो ।

आफ्नो माग सम्बोधन गराउन साङ्केतिक विरोध गर्दा प्रहरीले त्रसित बनाएको र प्रतिष्ठानको झुठो व्यहोराको निवेदनलाई आधार मानेर पक्राउको तयारी गरेको भनी आज गिरी, अधिकारी र महत प्रहरी कार्यालयमा उपस्थित भएको उनीहरूले बताएका छन् ।

सरकारी अस्पताललाई प्रतिष्ठानमा मिसाउन नहुने, अस्पतालको सम्पति प्रतिष्ठानमा गाभ्ने गरी बनाइएको ऐन सच्याउनु पर्नेलगायतको मागसहित हेटौंडा अस्पताल बचाऊ तथा सुधार अभियान समितिले नागरिक हस्ताक्षर अभियान, ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाउने लगायत कार्यक्रम गर्दै आएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट