Techie IT
Hetauda Khabar

मेयर लामालाई ‘चिटिक्क’ बनाइदिने सैलुनलाई एसी र इन्भर्टर उपहार ! चौतर्फी आलोचना


हेटौंडा उपमहानगरपालिकाले हेटौंडामा रहेको एक सैलुनलाई एसी र इन्भर्टर दिन लागेको कुरा बाहिरिएको छ । हेटौडा उपमहानगरपालिका- ४ मा रहेको द नाइनटिन सैलुनलाई एसी र इन्भर्टर जडानका लागि हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले माग बमोजिमको सामग्रीको लागत अनुमान तयार गरिदिन आदेश सहितको तोक निवेदन बिहानदेखि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

हिजो अर्थात् वैशाख ३ गते दर्ता भएको उक्त निवेदन पत्रमा नगर प्रमुख मेयरले लेखेकी छन्, ‘श्री पुरुषोत्तमजी माग भएको सामग्रीको लागत अनुमान तयार गरिदिनुहुन’ । उनले उल्लेख गरिएको पुरुषोत्तम भन्ने व्यक्ति उपमहानगरपालिकाकै बिजुलीजन्य सामग्री को लागत अनुमान गर्ने ओभरसिअर हुन् ।

यो त्यही सैलुन हो, जुन सैलुनको उद्घाटन नगरप्रमुख लामाले केही दिन अगाडि गरेकी थिइन्। साथै उक्त शैलुनले मेयर लामाको नेल आर्ट, फेसियल र कपाल काटिदिएको  थियो। मेयर लामालाई उक्त सैलुनले चिटिक्क बनाइदिएपछि सैलुनको उनले खुलेरै तारिफ गरेकी थिइन्। तारिफ सँगसँगै उद्घाटन कार्यक्रममा सैलुनमा धेरै गर्मी भएकाले म एसी जडान गर्न सहयोग गर्छु भन्ने आश्वासन व्यक्त गरेकी थिइन् ।

सो कुरा निवेदक सुसन घलानले लेखेको निवेदनमा समेत उल्लेख गरिएको छ। निवेदनमा भनिएको छ, ‘उक्त उद्घाटन कार्यक्रममा तपाईंले भन्नुभएको सैलुनमा गर्मी धेरै छ, म एसी जडानका लागि सहयोग गर्छु भन्ने कुरा सम्झेर यो औपचारिक निवेदन लिएर उपस्थित भएको छु । हाल गर्मीयाम अत्यधिक बढेकाले र हाम्रो सैलुनमा ग्राहकको भिड बढिरहेकाले आरामदायक सेवा दिन अत्यावश्यक रुपमा एक थान एसीको आवश्यकता परेको छ। साथै हालसालै हेटौडामा लोडसेडिङ तथा अनियमित विद्युत आपूर्तिका कारण सैलुनको सेवा अवरुद्ध हुने अवस्था आउँछ। ग्राहकको सेवा गुणस्तरीय बनाउन इन्भर्टरको आवश्यकता पनि उत्तिकै महत्वपूर्ण भएको छ। अतः हाम्रो सैलुनमा एसी तथा इन्भर्टर जडानको लागि तपाईंको सहयोग र समर्थनको अपेक्षा गर्दै यो निवेदन पेश गरेका छौं । तपाईंको सहयोगले हामीलाई हाम्रो युवा प्रयासलाई अझ सफल र प्रेरणादायी बनाउनेछ,’।

मेयर लामाले तोक लगाएको यो पत्र लिक भएपछि उपमहानगरपालिकाको चौतर्फी विरोध भइरहेको छ। उता उपमहानगरपालिका प्रवक्ता सविन न्यौपानेले भने मेयरलाई उपमहानगरपालिकालाई यस्ता सामग्री व्यवसाय प्रवर्धनका लागि सहयोग दिने अधिकार रहेको तर कुन विलासिताको हो त्यो भने ध्यान दिनुपर्ने बताउँछन्

सैलुनको सहयोगका लागि लागत अनुमान गरिएको विषय अलि विलासिताको भएकाले पनि विरोध भएको हुनसक्छ दिइसकेको छैन अब विरोध भएपछि के गर्ने भन्ने विषयमा आफूलाई समेत जानकारी नभएको उनी बताउँछन्।

उता उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलिया भने मेयरले गरेको सहयोग कानुनसम्मत रहेको बताए । मेयरलाई व्यवसाय प्रवर्द्धनका लागि सहयोग गर्न पाउने कानुन नै छ, कानुन बमोजिम उहाँले सहयोग गर्न खोज्नुभएको हो, यसमा विरोधको कुनै औचित्य छैन। कुनै पनि व्यवसायलाई प्रवर्द्धन गर्नका निमित्त बजेट नै छुट्टिएको हुन्छ सोही बजेट प्रयोग गरी सहयोग गर्नका लागि लागत अनुमान गर्न भनिएको हो यसमा गैरकानुनी भन्नै मिल्दैन, उनले भने ।

उता सैलुन संचालक सुसन घलानले भने आफुले उक्त पत्र सामाजिक संजालमा पोस्ट गरेर गलत गरेको महसुस भएको प्रतिक्रिया दिएका छन् । मकवानपुर क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्यनरत घलानका अनुसार उनले बैंकबाट कर्जा लिई २ लाख ५० हजारमा सैलुन व्यवसाय सुरु गरेका हुन् । उद्घाटनमा मेयर लामा समक्ष गर्मि भएको कुरा सुनाएपछी उनले निवेदन दिनु म एसी सहयोग गर्छु भनेकाले उनले निवेदन पेश गरेको बताउछन् निवेदनमा तोक लागेपछी उनले उक्त पत्र सामाजिक संजालमा हालेका थिए ।त्यस पश्चात उक्त पत्रको चौतर्फी विरोध सुरु भएको हो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट