चौघडा हस्पिटलको गैरकानुनी धन्दा, अनुमति लिन फर्जी कागज पेश !
उपमहानगरपालिकाले हचुवाको भरमा दिन्छ अनुमति, नागरिकको स्वास्थ्यमा गम्भीर खेलवाड
हेटौंडा उपमहानगरपालिका-६ चौघडामा रहेको चौघडा हस्पिटलले संचालन अनुमति लिदा फर्जी कागजात पेश गरेको पाइएको छ ।
मापदण्ड विपरित संचालित अस्पतालले हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा पेश गरेको कागजात फर्जी पेश गरेर अनुमति लिएको भेटिएको हो ।
अस्पतालले विशेषज्ञ डाक्टर बिनै एच ए र रेडियोलोजिस्टबाट विरामीको उपचार गर्ने गरेको छ भने, मनलाग्दी औषधि सिफारिस गर्ने गरेको छ । हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरण सम्बन्धि निर्देशिका-२०७६ मा उल्लेखित कुनैपनि मापदण्ड पुरा नगरेको अस्पतालले अनुमति भने गत १५ साउन २०८१ मा पाएको थियो । हेटौंडा उपमहानगरपालि संग सेटिङ मिलाएर अस्पतालका संचालक राजु गुरुङले १० शैयाको अस्पतालको स्वीकृति लिएका थिए ।
तर अस्पतालले भने सामान्य मापदण्डसमेत पुरा नगरेको भेटिएको हो ।
चिकित्सक अमेरिकामा
अस्पतालले संचालन अनुमतिका लागि हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य शाखामा पेश गर्ने कागजात सबै फर्जी पेश गरेको पाइएको छ । अस्पताललाई चाहिने २ जना डाक्टरको कागजपत्रमा हेटौंडा मै नभएका डाक्टरको प्रमाणपत्र पेश गरिएको छ ।
अस्पतालले २ जना विशेषज्ञ चिकित्सक अनिवार्य राख्नुपर्नेमा डा. मिलन खरेल र डा. रविराज देवकोटाको प्रमाणपत्र पेश गरिएको छ । अचम्मको कुरो यी दुवै डाक्टर नेपालमा छैनन् । २०८० मागमा डाक्टर खरेललाई अस्पतालले नियुक्त गरेको देखिएको छ, तर उनि हाल अमेरिकामा छन् । उनि अमेरिका गएको झन्डै २ वर्ष भैसकेको छ । त्यस्तै डा. देवकोटाले अस्पतालमा २०८० कार्तिकबाट अस्पतालमा जागिर खाएको कागजात पेश भएको छ, तर उनि युकेमा छन् । उनि युके गएको पनि २ वर्ष भैसकेको छ ।
फर्मासिस्ट भनेर फार्मेसी असिस्टेन्टको कागज
अस्पतालले फार्मेसीकोसमेत गलत कागजात पेश गरेको छ । अस्पतालले संचालन गरेको भनिएको अस्पताल परिसरमा भएको फार्मेसीमा फर्मासिस्ट समेत छैनन् । अस्पतालले उपमहानगरपालिकामा चतुर्थी बास्तोलाको प्रमाणपत्र पेश गरेको छ । उनको फार्मेसी असिस्टेन्टको प्रमाण पत्र पेश गरिएको छ, तर उनलाई फर्मासिस्ट भनेर नियुक्ति दिइएको कागज पेश गरी झुक्याइएको छ ।
अस्पतालले ल्याबमा प्रतिक्षा राई, असल बम्जन,प्रमिसा लामिछानेलगायतको कागजपत्र पेश गरेको छ भने, सृजना थापा डेन्टल, सबिना काफ्ले स्टाफ नर्स, प्रकास थापा एच ए भने प्रमाणपत्र पेश गरेको छ । तर अस्पतालमा अधिकांस कर्मचारी छैनन् । विरामीलाई बाहिरी व्यक्तिले चेकजाँच गर्ने गरेका छन् भने मनलाग्दी औषधि सिफारिस गर्ने गरिएको छ ।
स्वास्थ्यका हाकिम ट्वाँ
अस्पताल गैरकानुनी ढंगले सन्चाल गरेको र स्वास्थ्यमाथि खेलवाड गर्ने गरेको भन्दै हामीले हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुर्य प्रसाद तिवारीलाई यस विषयमा बुझ्दा उनले अस्पतालले पेश गरेको कागजपत्र हेरे । पेश गरिएको कागजात सबै फर्जी भएपछी उनि ट्वाँ परे । उनले तत्कालै अस्पताल संचालकलाई फोन गरे, तर संचालकले उनको फोन उठाएनन् । उनले यसबारे बुजेर थप बताउने प्रतिक्रिया दिए ।
हचुवाको भरमा स्वीकृति
१५ शैयासम्मको कुनैपनि स्वास्थ्य सस्थाको संचालन अनुमति तथा नवीकरण गर्ने निकाय हेटौंडा उपमहानगरपालिका हो ।
कुनैपनि सस्था दर्ता गर्नुपुर्व हेटौंडा उपमहानगरपालिकाले अनुगमन समिति गठन गरी अनुगमन गर्नुपर्ने हुन्छ । हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरण सम्बन्धि निर्देशिका-२०७६ को दफा ५ मा अस्पताल संचालकले निवेदन दिएपछी अनुगमन समितिले अस्पतालको अनुगमन गरी प्रतिवेदन पेश गर्नुपर्ने स्पस्ट व्यवस्था उल्लेख गरेको छ । सोही निर्देशिकाको दफा १० मा गुणस्तर तथा मापदण्ड सम्बन्धि व्यवस्थाले अनुगमन गरी प्रतिवेदन पेश गरी त्यसपछी संचालन स्वीकृति दिने उल्लेख छ । यो हेरौं ।
यस अस्पतालमा गत वर्ष अनुगमन गरिएको बताइएको छ, तर मापदण्ड नै पुरा नगरेको अस्पताललाई २०८१ साउनमा १० शैयाको अस्पताको संचालन अनुमति दिइएको छ । यसले हेटौंडा उपमहानगरपालिकाले हचुवाको भरमा वा सेटिङमा स्वीकृति प्रदान गरेको स्पस्ट हुन्छ ।
हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरण सम्बन्धि निर्देशिका-२०७६ मा कुनैपनि स्वास्थ्यसस्था दर्ता गर्नका लागि के-के मापदण्ड पुरा गर्नुपर्छ ? यो पनि हेरौं ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, मुख्य खबर, रोचक, समाचार, स्थानिय
प्रतिक्रिया