Techie IT
Hetauda Khabar

हेटौंडाको शुभसन्ध्या सहकारी रकम कुम्ल्याएर गायब, हेटौंडा उपमहानगरपालिका भन्छ- हामीलाई थाहा छैन


हेटौंडा उपमहानगरपालिका-४ मा केही वर्ष अघिसम्म संचालनमा रहेको शुभसन्ध्या उपभोक्ता महिला सहकारी सस्था गायब भएको पाइएको छ ।

केहिसमय अघिसम्म हेटौंडा-४ मा कार्यालय रहेको शुभसन्ध्याले बचतकर्ताको रकम फिर्ता नगरी सस्थानै एकाएक गायब भएको पाइएको हो । १५ हजारका दरले सेअर सदस्य बनाएर रकम जम्मा गर्ने गरिएको उक्त सहकारीमा महिलामात्र सदस्य रहेका थिए, तर सहकारी नै गायब भएपछी सस्था खोजिदिन बचतकर्ताले माग गरेका छन् ।

‘हाम्रो बचत फिर्ता नगरी सस्था नै गायब भयो, किराना पसलसमेत संचालन गरिएको थियो, पछी एकाएक सस्था नै हरायो नगरपालिकाले थाहा छैन भन्छ’, एक बचतकर्ताले गुनासो गरे ।

सहकारीले उक्त सहकारी मार्फत ऋण लगानी गरेर किराना पसलसमेत संचालन गरेको सहकारीका सदस्यहरुले बताएका छन् । केहि समयसम्म हेटौंडा-४ खोपेगल्लीमा सहकारीले पसल संचालन गरेको थियो । हाल उक्त सहकारी हराएको छ । सस्था नै हराएपछी यहाँका बचतकर्ताको रकम डुबेको छ ।

उता नियामक निकाय हेटौंडा उपमहानगरपालिका भने उक्त सहकारीबारे आफुलाई थाहा नभएको गैरजिम्मेवार जवाफ दिएर पन्छिएको छ । डिभिजन सहकारीले शुभसन्ध्याको फाइल आफुहरुलाई नदिएकाले उक्त सहकारीका बारे केही थाहा नभएको हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखाका प्रमुख हिम पौडेलले बताए ।

हेटौंडा उपमहानगरपालिकामा रहेको हाल संचालनमा रहेका सहकारीहरुको नामावलीमा भने यो सहकारीको नाम उल्लेख छ, सम्पर्क नम्बर भने राखिएको छैन । उपमहानगरको सहकारी शाखाले उपलब्ध गराएको नामावलीमा शुभसन्ध्या सहकारी रहेपनि उपमहानगरले भने सहकारीका बारे थाहा नभएको बताएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट