Techie IT
Hetauda Khabar

हेटौंडाको सृजना बचत सहकारीमा लाखौँ रकम हिनामिना, बचतकर्ताको करोडौं रकम डुब्ने खतरा


हेटौंडा उपमहानगरपालिका- ७ मा रहेको सृजना बचत तथा ऋण सहकारी सस्थामा लाखौँ रकम अनियमितता भएको पाइएको छ ।

सस्थाका व्यवस्थापाकसहितका संचालक समितिका पदाधिकारीले लाखौँ रकम हीनामिना पारेका हुन् । सहकारीको अघिल्लो कार्यकालदेखिका सदस्यहरुले रकम हिनामिना परेको पाइएको हो । यो सहकारीका पुर्व अध्यक्ष हाल हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडा अध्यक्ष दामोदर गौतम हुन् । गौतमकै पालादेखि सहकारीमा रकम हिसाब मिलान गडबड भएको पाइएको छ ।

सस्थाका व्यवस्थापकदेखि समिति सदस्यका परिवारसम्मले ऋण लिएर नतिरेको खुलेको छ भने ६४ लाख बढी रकम सस्थाको खाताबाटै गायब रहेको सस्थाका अध्यक्ष ध्रुब प्रसाद अर्यालको भनाई छ ।  सहकारीमा हिसाब गडबड भएपछी गत साउनदेखि व्यवस्थापक मनिका आचार्य सस्थामा हाजिर भएकी छैनन् ।

सृजना बचतले अधिकांस ऋण लगानी बिना धितो गर्ने गरेकोसमेत पाइएको छ । सस्थाका कर्मचारी र उनका परिवारका सदस्यलाई ऐन र कानुन विपरित मनलाग्दी ऋण प्रवाह गरेपछी सहकारीको बचत रकम जोखिममा परेको छ । सहकारीले बचतकर्तालाई फिर्ता गर्नुपर्ने रकम १ करोड ८० लाख बढी रहेको छ । तर मौज्जात रकम भने सस्थाको शुन्य रहेको सहकारीले जनाएको छ । सस्थाले हाल असुल गर्नुपर्ने ऋण रकम २ करोड भन्दा माथि रहेको सहकारी सस्थाकी उपाध्यक्ष उर्मिला थापाले बताईन् ।

अघिल्लो कार्यकालमा निकै अनियमितता भएको र हिसाब मिलानमा लाखौँ रकम गायब भएको हालका सहकारी सस्थाका अध्यक्ष अर्यालले समेत स्वीकार गरेका छन् । सहकारीले ऋण प्रवाह गरेको मध्य जम्मा  ५ प्रतिशत मात्र धितो राखिएको सस्थाका अध्यक्ष अर्यालले बताए ।

अहिले सृजना सहकारीको बचतसमेत शुन्य छ भने बचतकर्ताको करोडौं रकम डुब्ने जोखिम बढेको छ ।

यता नियामक निकाय हेटौंडा उपमहानगरपालिकाले भने यसबारे कुनै कदम चालेको छैन । सहकारीले बारम्बार आफै ताकेता गर्दासमेत उपमहानगरपालिकाले सहकारीको समस्याबारे चासो देखाएको छैन ।

 

 

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट