आजदेखि बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्ने
बागमती प्रदेशले आज (बिहीबार) देखि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ । गत जेठ ११ मा भाडा समायोजन गरेको प्रदेशले पुनः भाडादर घटाउन लागेको हो ।
नेपाल आयल निगम साउन १ गतेबाट इन्धनको मुल्यमा स्वचालित प्रणालीमा गएसँगै प्रदेश सरकारले भाडा घटाउन लागेको श्रम ,रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल आयल निगमले इन्धनको मुल्यमा स्वचालित प्रणाली लागु गरेसँगै इन्धनको मूल्य ५ प्रतिशत बढ्दा वा घट्दा भाडा सोही किसिमले घटाउनु वा बढाउनुपर्ने भएकाले अहिले भाडादर घटाउन लागिएको हो ।”
उहाँका अनुसार बागमती प्रदेशमा चल्ने सवारी साधनमा २.३ प्रतिशत भाडा घट्नेछ । यस्तै मालबहाक सवारी साधनमा ३.१८ प्रतिशत भाडा घट्नेछ । सीटी बसमा भने ३.२६ प्रतिशतले भाडा घट्ने उहाँको भनाइ छ ।
काठमाडौं उपत्यकामा पहिले सात किलोमिटरसम्म चढ्ने बित्तिकै १९ रुपियाँ तिर्नुपर्दथ्यो । अब १८ रुपियाँ तिर्नुपर्ने सूचना अधिकारी पौडेलले बताउनुभयो । काठमाडौँ उपत्यकामा पाँचदेखि १० किलोमिटरसम्म चढ्ने बित्तिकै २५ रुपियाँ तिर्नुपर्दथ्यो भने अब २४ रुपियाँ मात्र तिर्नुपनेछ ।
ट्याक्सीको भाडा भने यथावत् नै रहने उहाँको भनाइ छ ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया